प्रचारमा नयाँपन ल्याउदै ‘मनसरा’ टिम

१४ वैशाख २०८१ ४:१६

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मनसरा’को टिमले प्रचार प्रसारमा नयाँ शैली अपनाएको छ। चलचित्र रिलिज मिती नजिकिएसङै तीव्र प्रचारका क्रममा यसको टिम देश दौडाहामा छ । चलचित्र निर्माण टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपालमा कविता सुनाइरहेको छ ।

पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जन भन्दा बढी कविता सुनाएका थिए । कार्यक्रममा नायिका मिरुना मगरले आफ्नी आमाले रचना गरेको कविता सुनाएकी थिइन् । नेपाली चलचित्र क्षेत्रका लागि यो प्रचार शैली एकदमै नयाँ हो।

कलाकारहरू मेनुका प्रधान, प्रवीण खतिवडा, जीवन बरालले कवि सुब्बाले लेखेका कविता वाचन गरेका थिए । चलचित्रको टिमले आज इटहरी र बेलबारीमा कविता कन्सर्ट गर्दै मोफसलको प्रचारलाई टुङ्ग्याउने निर्माणपक्षले जनाएको छ।

वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन तथा निर्माण छ । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । त्यस्तै, यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र सिजन दाहाल कार्यकारी निर्माता हुन्।

यो चलचित्रमा नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकारहरू प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त वुढाथोकी, शान्ति गिरी, नेनहान राइको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *