‘पानीफोटो’ देखी ‘डिग्री माइला’ नाटकलाई बनाइयो चलचित्र

२५ चैत २०८० ११:३४

केही समय यता नाटकलाई चलचित्रको स्वरूप दिन थालिएको छ । रङ्गमञ्चमा रुचाइएको नाटक धेरै दर्शकसम्म पु¥याउन चलचित्रमा ल्याइएता पनि त्यसले सफलता भने पाउन सकेको छैन । विसं २०७९ साउन १३ मा ‘पानीफोटो’ प्रदर्शन गरियो । रङ्गमञ्च हुँदै चलचित्रमा अभिनेता बनेका खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गरे ।

नाटकका समेत निर्देशक रहेका अभिनेता लामिछानेले माओवादी द्वन्द्वको समयको एक परिवारको भोगाइलाई धेरै दर्शकसम्म पु¥याउन चलचित्र बनाएको बताए थियो । उनले त्यसलाई पुस्तकको स्वरूप पनि दिए ।

“यो कथा धेरै कहाँ पुग्नुपर्छ भन्ने लाग्थ्यो, यो द्वन्द्वकालमा बेपत्ता भएको छोरा पर्खिरहेका वृद्ध दम्पतिको पर्खाइको कथा हो, मलाई यो चलचित्र बनाउनु थियो, व्यावसायिक पाटोलाई मैले यसमा सोचिन”, अभिनेता लामिछानेले भने । त्यसयता उनले चलचित्र निर्देशन गरेका छैनन् ।

अबको एक महिनाभित्र दुई चर्चित नाटक ‘डिग्री माइला’ र ‘बोक्सीको घर’ चलचित्र बनेर आउँदैछन् । ‘डिग्री माइला’ लाई नाटक हुँदा अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । चलचित्रमा भने रामबाबु गुरुङलाई निर्देशनको कार्यभार सुम्पेर अभिनेता राईले अभिनय गरेका छन् । नाटकको परिकल्पना गर्दा र नाम नै जुराउँदा निर्देशक गुरुङ सहकार्यमा रहेकाले निर्देशकको लागि उपयुक्त रहेको अभिनेता राईले बताए ।

“हामीले नाटकलाई नै चलचित्रमा ल्याएका छैनौं, डिग्री माइला भन्ने पात्रलाई ठूलो पर्दामा ल्याएका हौँ, मध्यम फरक भएकाले प्रस्तुतीकरणसँगै पटकथामा भिन्नता छ, यो पात्रको मध्यमले देशमा देखिरहेको बेरोजगारीलाई भन्नु पर्छ भन्ने लगेर नायक बनाउँदा नै चलचित्रको सोच आएको थियो, उक्त समयमा हामीले चलचित्र आटन सकेनौँ, अहिले अवस्था प्रतिकूल भएकाले ठुलो पर्दामा आउँदै छ”, अभिनेता राईले भने ।

चैत २० गते प्रदर्शन गरिने चलचित्रमा पात्रलाई समयानुकूल तयार गरेको उनले बताए । उनले मण्डला नाटकघरमार्फत यो नाटकलाई विभिन्न ठाउँमा मञ्चन गरे । यस्तै नाटकमै आधारित रहेर तयार गरिएको अर्को चलचित्र हो ‘बोक्सीको घर’ । यो चलचित्रलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेको हो भने चलचित्रमा उनको मुख्य भूमिका छ। उनले नाटक हेरेपछि यसलाई चलचित्र बनाउने निर्णय गरेकी उनी बताउछिन् ।

“मैले यो नाटकमा महिला सशक्तीकरणको विषयलाई पाएँ, हामीले देखेको तर महसुस गर्न नसकेको पक्षलाई नाटकमा रमाइलोसँग प्रस्तुत गरिएको थियो, मैले छ महिना कार्यशाला गरेर उक्त भूमिकामा आफूलाई तयार गरेकी थिएँ”, अभिनेत्री अधिकारीले भनिन् । आउँदो वर्ष विसं २०८१ वैशाख १४ गते प्रदर्शन गरिने चलचित्रका लागि उनले चार वर्ष खर्चिएकी छिन् ।

“महिला पात्रलाई धेरै चलचित्रमा अभिनेताको जोडीका रुपमा मात्र चित्रण गर्ने गरिन्छ, त्यसकारण पनि मलाई यो कथालाई चलचित्रको माध्यमले भन्नु पर्छ भन्ने लागेको हो, यसलाई कलात्मकसँगै व्यावसायिक सफलता दिलाउनुपर्ने चुनौती मलाई छ”, अभिनेत्री अधिकारीले भनिन् ।

नाटक र चलचित्र हेर्ने दर्शक फरक भएकै कारण ठूलो पर्दामा आएका नाटकले सफलता पाउन सकेका छैनन् । यद्यपि यी दुई चलचित्र प्रति आशावादी हुने धेरै ठाउँछन् । यी दुवै चलचित्रमा कलात्मकसँगै व्यावसायिक पाटोलाई बलियोसँग व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *