‘पुजार सार्की’को प्रदर्शन मिती तय – जेठ १० मा रिलिज पक्का

२३ चैत २०८० ४:३८

निर्देशक दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पुजार सार्की’को प्रदर्शन मिती तय गरिएको छ। निर्माण टिमले चलचित्रको दुई नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १० गतेलाई प्रदर्शन मिती तय गरेको हो।

नेपाली चलचित्र क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको यो चलचित्र दर्शकका लागि प्रतिक्षित छ भने निर्माण घोषणा भएदेखी नै यो चलचित्र चर्चामा छ।

नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पार्दै निर्देशक राउतले भने, ‘निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो । हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज हुनेछ ।’

जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा निर्माण गरिएको यो चलचित्रको पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह आ-आफ्नो चरित्रमा छन् । त्यस्तै अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ । पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ । चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन् ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन्। चलचित्रको यसअगाडी एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरिसकेको छ। महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत अन्यकलाकारको पनि अभिनय छ। बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *