बाबुराम भट्टराईले ‘महाजात्रा’ हेरेपछि के भने ?

२१ चैत २०८० ४:४४

चैत ९ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महाजात्रा’को यो तेश्रो श्रिङ्गखलालाई नेतादेखी कलाकार सबैले हेरेका छ। सोहिक्रममा हिजो मंगलबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि यो चलचित्र हेरेका छन्।

भट्टराईले यो चलचित्र हेरेपछि यो चलचित्रको पुछारको सन्देश आफूलाई निजी रूपमा बढी घत परेको विषय भएको बताएका छन् । चलचित्र मनोरञ्जन, भावुकता र सामाजिक तथा राजनीतिक सन्देशको उचित संयोजन रहेको उत्कृष्ट प्रस्तुति रहेको बताए ।

‘वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र आपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त सङ्घर्षको माध्यमबाट वा “जस्तालाई तस्तै” को तरिकाले मात्र निस्तेज वा रूपान्तरण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको विषय हो,’ उनले भने ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा देशमा उच्च तहमा रहेको भ्रष्टाचार, समाजको अपराधिकरण, बेरोजगारीको दर्दनाक अवस्था, परिवारको विग्रह लगायतका विषयवस्तु वस्तुपरक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको उनले सुनाए । ‘सत्यनिष्ठामा रहन प्रयत्न गर्नेहरूका निजी र पारिवारिक पीडा निकै मार्मिक ढङ्गले उठाइएका छन्,’ उनले भने, ‘महिला पात्रहरूलाई सधैँ पुरुषहरूको लाचार छायाको रूपमा उभ्याइने फिल्मी परम्परालाई तोड्दै उनीहरूको स्वायत्तता र सत्यनिष्ठामा जोड फिल्मको विशेष सबल पक्ष मान्नुपर्दछ।’

कलाकारहरूको अभिनय कौशल र एकसाथ हाँसो र रुवाइको सहज प्रस्तुति बेजोड रहेको उनले बताए । अघिल्लो खण्डलाई अलि छोट्याउन, प्रहरीको भूमिकालाई बढी संस्थागत गर्न सकेको भए सुनमा सुगन्ध हुने उनको सुझाव छ । ‘आफ्नै देशका यस्ता रचनात्मक चलचित्रहरूलाई आर्थिक रूपले सबल पार्न र प्रोत्साहित गर्न हलमा पुगेर हेर्ने बानी जनस्तरबाट पनि बसाल्ने कि?,’ भट्टराईले भने ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *