‘अस्कर कलेज’को आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु

१४ चैत २०८० १०:३२

नेपालमा चलचित्रसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु गरेको छ । उक्त अभिनयमा नेपालका दश सहरहरुमा यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने कलेजका प्रधानाध्यापक रामराज दाहालले जानकारी दिए । “हामीले आजदेखि पूर्वीनेपालको विराटनगरबाट साक्षरता अभियानको सुरुआत गरेका छौँ ।

नयाँ पुस्तालाई चलचित्रसम्बन्धी जानकारी दिन हामी उनीहरु कै सहरमा पुगेका हौँ । यसले नेपाली चलचित्रप्रतिको चासोलाई बढाउँछ भन्ने हाम्रो विश्वास छ”, उनले भने, “चलचित्रसम्बन्धी गतिविधि काठमाडौँ उपत्यकामा मात्र केन्द्रित गर्दा त्यसको प्रभाव मोफसलमा पर्न सकेको छैन । विभिन्न तहमा अध्ययनरत, परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो अभियान सुरु गरेका हौँ ।”

अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत चलचित्रप्रतिको जिज्ञासा, यसमा भविष्य र जटिलता बारेमा जानकारी दिइने प्रधानाध्यापक दाहालले बताए ।

कार्यशालामा प्रश्नोत्तर, अभिनयका अभ्यास, चलचित्रको इतिहास र चरित्रबारे जानकारी दिँदै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्न सकिन्छ, कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रुपान्तरण गर्नेलगायत विषयमा प्रयोगात्मक अभ्यास गरी देखाइने उहाँले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *