अशोक शर्माविरुद्ध निर्माता चन्दन झाले दिए उजुरी

१४ चैत २०८० ६:२७

वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रमुख अशोक शर्माविरुद्ध उजुरी परेको छ। चलचित्र ‘बाटो’को प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै शर्माविरुद्ध निर्माता चन्दन झाले चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् ।

निर्माता झाले डिसिएनसँगको पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन वा सम्झौता रद्ध गर्न प्रस्ताव गर्दा वितरक शर्माले अस्वीकार गरेका थिए। उजुरी पत्रमा भनिएको छ, ‘हामीले डिसिएनलाई मार्केटिङ प्रमोसन आदिका लागि रकम आग्रह गरका थियौं । र, हाम्रो पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका थियौं । तर, डिसिएनले हाम्रो सो प्रस्ताव अस्वीकार गरेको हुनाले हामीले वर्तमान सम्झौता रद्ध गर्न पनि अनुरोध गयौं । तर, डिसिएनका अध्यक्ष अशोक शर्माले सम्झौता रद्ध वा परिमार्जन गर्न अस्वीकार गरी नेपालमा हाम्रो चलचित्रको प्रदर्शनमा रोक लगाउने त्रास देखाउनुभयो । निर्माताको हैसियतले म अन्त्यन्त पीडित अवस्थामा छु ।’

निर्माता झाले यो विषयमा समस्या समाधानका लागि बोर्ड र निर्माता संघसँग अनुरोध गर्दै प्रचारका लागि रकम आग्रह गर्दा अशोक शर्माले अस्वीकार गरेको र अर्को वितरकलाई दिए रिलिज रोक्ने त्रास देखाएको निर्माता झाले बताएका छन् । उनी भन्छन्, ‘एक वर्ष अगाडि डिसिएनसँग सम्झौता हुँदा हामीलाई पैसाको खाँचो थिएन । तर, अहिले अप्ठ्यारो परेकाले केही रकम मागेका थियौं । तर, अशोक शर्माले पैसा दिँदैनौं भन्नुभयो । अरुलाई वितरण गर्न दिन्छौं भन्दा पनि उहाँले मान्नुभएन । त्यस्तो गरे रिलिज नै गर्न दिन्नँ भन्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *