एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘महाजात्रा’ हेरेका छन्। उनले सोमबार बेलुका सुन्धारा स्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यका साथमा बसेर चलचित्र हेरेका हुन्।
यो चलचित्र हेरेपछि उनले चलचित्रलाई १० नम्बर मा ९.५ नम्बरको रेटिङ दिए । अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले यो चलचित्र हेरेका थिए ।
अध्यक्ष ओलीले भने,-यो चलचित्र निकै राम्रो लाग्यो। चलचित्रले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ। यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । यो चलचित्र काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण चलचित्रबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’
त्यस्तै, कोमल ओलीले भनिन्, ‘यो चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ। चलचित्रको सुरुआत देखि नै म हाँसी रहे । यसले भ्रष्टाचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रूपमा राजनीति गर्नुपर्छ भन्ने सन्देश दिएको छ । मैले यो शृङ्खलाका सबै चलचित्र हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’।
षट्कोण आर्ट्सले निर्माण गरेको यो चलचित्र गत चैत ९ गतेबाट नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा आएको हो। चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।