‘अगस्त्य’ले लगानी उठाएको दाबी गर्दै, २०२६ मा ‘च्याप्टर २’ रिलिज गर्ने निर्माताको घोषणा

८ चैत २०८० ४:२१

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन गरेको चलचित्र ‘अगस्त्य’चौथो हप्तामा प्रवेश गरेको छ। गत फागुन १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र निर्माण टिमले बुधवार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको हो ।

‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो चलचित्र चौथो सातामा प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं’, निर्देशक चौधरीले भने, ‘चलचित्रमा पक्कै पनि केही कमिकमजोरी छन् । त्यो कमीकमजोरीलाई सुधार्दै जाने हामी प्रण गर्छौ ।’ उनले अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि यो चलचित्र चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा भएको बताएका हुन्।

त्यस्तै, निर्माता अनिष तामाङले यो चलचित्रले विश्व बजारबाट लगानी उठाएको दाबी गरेका छन् । त्यससङै दर्शकले दिएको अंकले खुशी भएको बताउदै ‘म र टिमका लागि यो ठूलो उपलब्धि हो । हाम्रो चलचित्रले अहिले राम्रो पिकअप लिइरहेको छ । सकारात्मक र नकारात्मक समीक्षा आए पनि दर्शकको साथ पाइरहेका छौं’, उनले भने ।

उनले आफ्नो टिमले चाँडै नै ‘अगस्त्यः च्याप्टर २’ निर्माणको तयारी गरिरहेकाले ‘अगस्त्यः च्याप्टर १’मा भएका कमी कमजोरीलाई सुधार्दै अझ परिस्कृत कथा नयाँ भागमा देखाइने बताए । चलचित्र ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा रिलिज हुने छ ।

अभिनेता सौगात मल्लले दर्शकबाट पाएको साथ र सहयोग आफ्ना लागि ‘सर्पोटिभ’ भएको बताए । ‘मोफसलका हलमा जाँदा दर्शकहरुले मलाई विश्वास गरेर हलमा आउनुभयो । कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरु के नै हुनसक्छ र ?’ उनले भने ।

अभिनेत्री मलिका महतले दर्शकले चलचित्र प्रति दिएको माया र साथप्रति आभार व्यक्त गरिन् । उनले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् ।

त्यस्तै, ‘त्रिपाठी’ चरित्र निर्वाह गरेका अभिनेता प्रमोद अग्रहरिले अहिले चलिरहेको चलचित्र भन्दा ‘अगस्त्यः च्याप्टर १’ अब्बल बनेको बताए । उनले हरेक चरित्रलाई दर्शकले नियालिरहेको आफूले बुझेकाले कलाकारले पनि आफ्नो अभिनयलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने चुनौति थपिएको बताए।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *