महाजात्रा: नेपालसहित विदेशका ४० देशमा एकसाथ प्रदर्शन

२ चैत २०८० ८:०५

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ। आगामी ९ चैत्रबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र विदेशका ४० देशमा गरेर २ सय ५० सहरमा रिलिज हुन लागेको हो।

यो चलचित्रले कानुनी तरिकाबाट अकुत सम्पत्ति कमाउने नेताले पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या, जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रको माध्यमबाट रोचक रूपले प्रस्तुत गर्छ।

विभिन्न मुलुक र क्षेत्रमा स्थानीय वितरकलाई जिम्मा दिएको एमएसएम इन्टरटेनमेन्टले अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडोलाई जिम्मा दिएको छ।

एमएसएमका अनुसार चलचित्र संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अस्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले यो चलचित्रलाई वितरण र प्रदर्शन गर्नेछ ।

साउदी अरेबियामा कुनै नेपाली चलचित्र प्रदर्शन भएको छैन । एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली चलचित्रको रूपमा ‘महाजात्रा’ प्रदर्शन गर्न लागेका हुन् । बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्दैछ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रमा जितबहादुर रूवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण गरिएको चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात निर्माण टिमले ‘महाजात्रा’ निर्माण गरेको हो। यो चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन्।

चलचित्रमा अभिनेता हरिवंश आचार्य सँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झावर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *