‘मेयर’को सेटबाट बाहिरियो ‘भरतबहादुर थापा मुर्दावाद’ लेखिएको प्लेकार्ड

१ चैत २०८० ९:५६

दीपेन्द्र के खनालको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मेयर’को छायांकन धमाधम चलिरहेको छ । सर्लाहीको बागमती नगरपालिकामा छायांकन हुँदै गरेको चलचित्रको केही तस्वीर र भिडियो सार्वजनिक गरिएको छ।

निर्माणपक्षले सार्वजनिक गरेको तस्वीर र भिडियोले पनि टिमको मिहिनेत उच्च देखिएको छ । दिनरात नभनी चलचित्रको टिमले काम गरिरहेको तस्विरमा देख्न सकिन्छ । केही दिन अगाडि यो चलचित्रको एक दृश्यको छायांकन गरिएको छ, जहाँ स्थानीय बासिन्दाले थापाको विरोध गरेको देखाइएको छ । सार्वजनिक तस्विरमा भने ‘भरतबहादुर थापा मुर्दावाद’ लेखिएको प्लेकार्ड बोकेका स्थानीय देख्न सकिन्छ ।

यो दृश्यको छायांकनका क्रममा मेयर थापा पनि सेटमै थिए । मेयरको अगाडि स्थानीयहरूले ‘मुर्दाबाद’ भन्न नै मानेनन् । यसपछि, मेयर सेटबाट निस्किएपछि मात्र स्थानीयहरूले विरोधको नारा लगाएको दृश्य दिन मानेका थिए ।

उच्च क्यानभासमा खिचिएको यो चलचित्रको छायांकनका लागि स्थानीय बासिन्दाहरूले पनि पूर्ण रुपमा साथ दिएको निर्माणपक्षले जानकारी दिएको छ । हरेक दिन जसो सयौं जनतालाई राखेर चलचित्रको छायांकन भइरहेको छ । क्लाइमेक्सको दृश्यको छायांकनका क्रममा त हजारौं जनतालाई फ्रेममा राख्ने तयारी गरिएको छ ।

सर्लाहीका मेयर भरतबहादुर थापाको जीवन कथामा निर्माण गरिएको चलचित्रमा थापाको राजनीतिक उतारचढावको कथालाई चलचित्रको पर्दा मार्फत देखाउन खोजिएको छ । यो चलचित्रमा उनको राम्रा कामलाई मात्र नभएर, विरोधका विषयलाई पनि समेटिएको निर्देशक खनालले जानकारी दिए ।

चलचित्रमा मेयर थापाको भूमिकामा खगेन्द्र लामिछानेले काम गरिरहेका छन् । उनको साथमा वर्षा राउत, हरिहर शर्मा, अनुप बराल, रविन्द्र झा, दिव्य देव लगायतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *