चर्चित ब्यान्ड ‘नेपथ्य’ ईलाममा गुञ्जिने

२७ फागुन २०८० ७:०५

चर्चित ब्यान्ड नेपथ्य ईलाममा गुञ्जिने भएको छ। सूर्योदय नगरपालिकाको करफोकस्थित सल्लाघारी पाखामा चैत ३ गते शनिबार नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने भएको हो।

यो मैदानमा बर्सेनि राष्ट्रिय स्तरकै फुटबल प्रतियोगिता समेत आयोजना हुँदै आएको छ । ‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एक पटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलोदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यस पटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ ।’

नेपथ्यले मुलुकका स–साना गाउँवस्ती हुँदै विश्वका ठुला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ । नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरूमा ८० भन्दा बढी साङ्गीतिक प्रस्तुति दिइसकेको छ ।

शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो । इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीन तल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केहि कोषको व्यवस्था गर्नेछ,’ गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीको साथ रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *