शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ भोलीबाट हलमा प्रदर्शन नहुने भएको छ । निर्माता तथा निर्देशक नवल खड्काले यो चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेका हुन्। उनले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शकहरुले यो चलचित्रलाई कुनै पनि सहयोग नगरेको भन्दै हलबाट उतार्ने घोषणा गरेका हुन् ।
उनले आफुसँग जुध्न आएका अन्य चलचित्रलाई नेपाली चलचित्रका ८०–९० वटा शोहरु प्राइम टाइममा दिइएको तर आफूहरूको चलचित्रलाई भने निकै कम शो दिइएको भन्दै आक्रोश व्यक्त गरे।
निर्देशक खड्काले भने–‘हामीले देशभक्ति चलचित्र बनाउनु नै अपराध गरेको हो र ? के देशभक्ति चलचित्र चलचित्र नै होइन ? व्यवहारमा यस्तो नै देखिएको छ । यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवाला निकायले एक दिन दिनै पर्छ ।’ उनले, देशभक्ति चलचित्रमाथि मजाक गर्न छुट कसैलाई पनि नभएको तर्क गरेका छन् ।
नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र यो चलचित्रमा नवल खड्काको साथमा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ ।