दयाहाङ र मिरुनाको ‘रङ्गेली’ प्रिमियर सम्पन्न

२४ फागुन २०८० ५:०८

आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को प्रिमियर गरिएको छ। बुधवार काठमाडौंको बीग मुभिजमा आयोजना गरिएको उक्त प्रिमियर हेर्न चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए ।

३ घन्टा लामो रहेको उक्त चलचित्रको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु भयो। जसका कारण चलचित्रको प्रिमियर हेर्न आएका अतिथीहरुले करिब ८ घन्टा समय हलमा बिताउनु पर्यो । प्रिमियर सकिदा रातको ११ बजेको थियो।

चलचित्र प्रिमियरका लागि भनेर मुख्य नायक–नायिका दयाहाङ राई र मिरुना मगर पुर्वी रुकुमबाट काठमाडौं आइपुगेका थिए । प्रिमियरमा यसका मुख्य दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको रुपमा रहे ।

चलचित्रको प्रिमियर हेरेका अधिकांशले यो चलचित्रको खुलेर नै तारिफ गरेका थिए । मोरङको रंगेली भन्ने ठाउँमा हुने ग्याङ स्टारको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

अर्जुन सुवेदी निर्देशन रहेको चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *