रमित ढुंगाना फिल्म प्रोडक्सन प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को छायाङ्कनका लागि चन्द्रनिगाहपुर पुगेको छ। गत १४ गते पोखरबाट छायाङ्कन सुरु भएको यो चलचित्र वीरगन्जको केही दिनको छायाङ्कनपछि अहिले चन्द्रनिगाहपुर पुगेको हो । चन्द्रनिगाहपुरपछि काठमाडौँ, भक्तपुर र काभ्रेमा चलचित्रको छायाङ्कन हुनेछ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने बताइएको यो चलचित्रको अब १५ दिन चन्द्रनिगाहपुरको जुडिबेला भन्ने गाउँमा छायाङ्कन हुनेछ ।
तेजाब आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको चलचित्रको अहिलेसम्म ३० प्रतिशत छायाँकन सकिएको चलचित्रका निर्देशक अभिनेता रमित ढुङ्गानाले बताएका छन्।
शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको यो चलचित्रमा ५ जना तेजाब आक्रमणमा परेकाहरूको कथालाई समावेश गरिएको छ । चलचित्रको निर्माण नियन्त्रक भोला सुवेदी हुन् । चलचित्रको छायाँकार नीरज कँडेल हुन्।
चलचित्रमा सुरवीर पण्डित, रचना गौतम, रामचन्द्र अधिकारी, सिम्रन खड्का, प्रभात ठकुरी लगायतको कलाकारको मुख्य भूमिका छ ।