अगस्त्य: नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरे

२२ फागुन २०८० ७:०५

गत शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘अगस्त्य’लाई नेपाल प्रहरीका जवानदेखी अधिकारीसम्मले हेरेका छन्। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको चलचित्र हेर्न सोमबार बेलुका तीन प्रहरी एसएसपीसहित डेढ सयभन्दा बढी प्रहरी बिग मुभिजमा पुगेको हो ।

मानव बेचबिखन रोकथाममा आधारित रहेर निर्माण गरिएको चलचित्र हेर्न प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनाली, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीसहित डीएसपी, इन्सपेक्टर, प्रहरी जवानसहित काठमाडौं प्रहरीको प्रत्येक वृत्तबाट दुई-तीनजना प्रतिनिधि हलमा पुगेका थिए ।

चलचित्र हेरेपछि अधिकांश प्रहरी जवानहरुले यथार्थ कथामा चलचित्र निर्माण भएको भन्दै यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको छ। चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *