आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रङ्गेली’मा नायक प्रविण खतिवडा प्रहरी अफिसरको भूमिकामा देखिदैछन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै गोलाबारी गरिरहेका देखिन्छन् ।
उनको भनाइमा उनको ‘प्रहरी अफिसर’ चरित्र अनुशासनमा नबस्ने किसिमको छ । ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर चलचित्र शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । चलचित्रमा पनि त्यही हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छु’, प्रविण भन्छन् । प्रविणका अनुसार उनलाई ‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यो तडकभडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा चलचित्रमा देख्न सकिनेछ ।
उनी भन्छन्, ‘ चलचित्रमा मैले कुन पात्रलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय लिने मेरो चरित्र हो।’ । उनलाई प्रहरी अफिसरको चरित्र निभाइरहँदा निकै मज्जा लागेको रहेछ । उनका अनुसार आफ्नो चरित्र निभाउनु अघि त्यसमा देखिएका ‘पोलिटिकल्ली इनकरेक्ट’ कुराहरूलाई कसरी डिल गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल गरिएको थियो ।
प्रविण आफ्नो चरित्रलाई दर्शकले चलचित्रमा हेरिरहँदा एक दुई वटा काम यसले ठिकै गर्यो भन्ने अनुभव हुनसक्ने अनुमान लगाउँछन् । ‘एक दुई वटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् या आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति डोमिनेट गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन । मलाई प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने लागेको छ’, उनी भन्छन् ।
अर्जुन सुवेदीको निर्देशनमा तयार भएको चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।
दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।