नामका कारण विवादमा तानिएको चलचित्र ‘रङ्गेली’ सेन्सर पास भएको छ। चलचित्रको नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । आईतवार चलचित्र जाँच पास समितिले यो चलचित्रलाई ‘पिजी सर्टिफिकेट’ प्रदान गरेको हो।
यो चलचित्रका निर्माता जितेन्द्र खतिवडा र वितरक गोविन्द शाहीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाएर बोर्डका पदाधिकारीले ‘पिजी सर्टिफिकेट’ दिएको हो। ‘पिजी सर्टिफिकेट’ प्राप्त गरेको यो चलचित्र हेर्न अब १६ बर्ष भन्दा कम उमेरका बालबालिकालाई अनिवार्य अभिभावक चाहिन्छ।
चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।
दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ । दुई घण्टा ५५ मिनेट लामो यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदी निर्देशन गरेका हुन्।