अभिनेता हरिवंश आचार्य अभिनित चलचित्र ‘महाजात्रा’ यही चैत ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ। यो चलचित्रको फर्स्टलुक र टिजरमा समेत उनलाई भिलेनका आंशिक रूप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको हो । यो चलचित्रमा उनी भिलेनको रुपमा प्रस्तुत छन्।
आईतवार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता हरिवंश आचार्यले अब हिटरलको चरित्र निर्वाह गर्न मन लागेको बताएका छन्। कार्यक्रममा बोल्दै, ‘म हिटलर चरित्र निर्वाह गर्न चाहन्छु । किनकि मैले हरिबहादुरको जस्तो चरित्र पनि निभाएँ । त्यसकारण अझ शक्तिशाली चरित्रमा आफूलाई उभ्याउन चाहन्छु,’ उनले भने ।
चलचित्र ‘महापुरुष’मा आदर्श पुरुषको रुपमा काम गरेका हरिवंश ‘महाजात्रा’मा भने खलपात्रको भूमिका निर्वाह गर्न तयार भए । यसो गर्दा समाजमा हरिवंशले बनाएको इमेज बिग्रने खतरा हुँदैन त भन्ने प्रश्नमा उनले भने–‘म एउटै छापमा बस्न नै चाहन्नँ । मलाई अब नेगेटिभ भूमिकामा काम गर्न मन छ ।’
हरिवंशले आफूलाई एउटै भूमिकामा काम गरिराख्न मन नलाग्ने तर्क गरे । उनले भने–‘महापुरुषमा आदर्श भयो भन्दैमा सबैमा हुनुपर्छ भन्ने छैन । मलाई महाभ्रष्टको भूमिकामा काम गर्न मन छ ।’
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको यो चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। चलचित्रमा जितबहादुर रूवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण गरिएको चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात निर्माण टिमले ‘महाजात्रा’ निर्माण गरेको हो। यो चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन्।
निर्देशक प्रदीप भट्टराई लिखित तथा निर्देशित चलचित्रमा अभिनेता हरिवंश आचार्य सँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झावर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।