अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर चलचित्र ‘१२ गाउँ’मा ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिज कोइराको इन्ट्री भएको छ। अभिनेता भट्टले कनिजलाई खलपात्रको रुपमा अनुबन्धित गरेका हुन्।
चैत १५ गतेदेखि छायांकन सुरु गर्ने यो चलचित्रको निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र कोइराबीच लिखित सम्झौता भएको हो। कनिजको यो दोश्रो नेपाली चलचित्र हो। उनले ‘बाहुबली’फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ चलचित्रमा समेत खलपात्रको भूमिकामा काम गरिसकेका छन् ।
नेपाल र भारतमा सम्पूर्ण छायांकन गरिने यो चलचित्रको लागि विराजले पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कालाई मुख्य भूमिका फाइनल गरिसकेका छन्।
त्यस्तै, अभिनेता विराज भट्टको पहिलो निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’ हो। यो चलचित्र उनको दोश्रो निर्माण तथा निर्देशन हो। यो चलचित्रको लाइनअफ हेर्दा उनको यो दोश्रो चलचित्र रोचक हुने पक्का छ। पहिलो चलचित्रबाट उनले पूर्वमिस नेपाल निकिता चाण्डकलाई डेब्यु गराएका थिए।