अर्जुन सुवेदीको निर्देशनमा तयार भएको ‘रङ्गेली’लाई चलचित्र जाँच पास समितिले आपत्ति जनाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रको नामका कारण पछि समस्या उत्पन्न हुने भन्दै निर्मातालाई प्रमाणपत्र नदिएको हो।
यो चलचित्रलाई चलचित्र सेन्सर बोर्डले भोलिका दिनमा नामका कारण समस्या उत्पन्न नहोस् भनेर सम्बन्धित गाउँपालिकाको सिफारिश पत्र लिएर आउन अनुरोध गरेको छ। सेन्सरका एक सदस्यले भने – ‘हामीले यो चलचित्रलाई रोकेका होइनौ । नामको सिफारिश पत्र आएपछि सर्टिफिकेट दिन्छौं ।’ चलचित्र निर्माण टिमले गाउँपालिकाको सिफारिश ल्याउन सकिने बताएको छ । यसैले, सिफारिश पत्र ल्याएपछि सेन्सर प्रमाणपत्र दिने तयारी गरिएको छ ।
विशेषगरि, गृह मन्त्रालयका सदस्यको नाममा आपत्ति भएपछि सेन्सरको पत्र दिन आनाकानी गरिएको हो ।
चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।
दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।