केही बर्षदेखि अमेरिकामा बस्दै आएकी नायिका नन्दिता केसी वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले डाक्टर अरविन्द्र कटवालसँग फागुनको १९ गते बिहे गर्न लागेकी हुन् । डाक्टर अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छन्।
सामाजिक संजालमा एक तस्विर पोष्ट गर्दै नन्दिताले लेखेकी छिन्–‘जीवनको नयाँ यात्राको सुरुवात । मैले, हुन्छ भने…।’ कार्डियोलोजिस्ट डाक्टर कटवालसँग केही महिना अगाडि मात्र नायिका नन्दिताको भेट भएको हो। उनीहरुले परिवारको सहमतिमा मागी बिबाह गर्न लागेको बुझिएको छ।
गायक बाबु बोगटीको ‘सान्नानी तिमीलाई’ बोलको गीतमा अभिनय गरेपछि पनि चर्चामा आएकी नन्दिताले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जङ्गबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।
नयाँ जीवनको यात्रा सुरु गर्ने तयारीमा रहेकी नायिका नन्दितालाई हाम्रो शुभकामना !