८२ बर्षको उमेरमा बरिष्ठ गायक भक्तराज आचार्यको निधन

१५ फागुन २०८० ५:१६

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उनको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको हो। दुई छोराहरु सत्यराज र स्वरुपराज आचार्यले अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको थियो । अपरान्ह ४ बजे आचार्यको अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल लगिएको थियो।

उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेबाट प्रज्ञा प्रतिष्ठान परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको छ। आचार्यलाई राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए।

१९९९ सालमा धनकुटामा जन्मिएका गायक तथा संगीतकार आचार्यले नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीतहरु दिएका छन् । उनका ‘मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् वुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा’ लगायतका गीतहरु चर्चित छन् ।

गायक आचार्य लामो समयदेखि मुखको क्यान्सरबाट पनि पीडित थिए । उनले ४ सय बढी गीतमा स्वर र संगीत दिएका छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् ।

आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायक तथा संगीतकार आचार्यको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणिय क्षती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *