एकरातमै सकियो एलिजा र निश्चलको एकसाथ फिल्म खेल्ने सपना

१३ फागुन २०८० ७:४९

नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर नयाँ चलचित्र निर्माण हुने भनिएको चलचित्र नबन्ने भएको छ। शनिबार बेलुकी अधिकांश मिडियामा नायिका एलिजा गौतम र नायक निश्चल खड्काले एकसाथ चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको थियो। निश्चल र एलिजाले समुन्द्र भट्टको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्रमा काम गर्ने पक्का भएको खबर यत्रतत्र भएको थियो।

तर, आज आइतबार चलचित्र नबन्ने खबर बाहिर आएको छ। समुन्द्र भट्टको निर्देशन रहने भनिएको चलचित्र एकैरातमा किन नबन्ने भयो त भन्ने प्रश्नमा चलचित्रकी निर्देशक समुन्द्र भट्टले चलचित्र बन्ने विषयमा कुरा नै नभएको तर्क मिडियासँग गरेकी छिन् । उसो त, उनले अहिले अधिकांश मिडियाको फोन समेत इग्नोर गरेर बसेकी छिन्।

उनले एक मिडियासँग कुरा गर्दै एलिजा र निश्चलसँग ठमेलको एक रेष्टुरेण्टमा कफी मिटिङका लागि भेट भएको र फोटो खिचाएको तर्क गरेकी छिन् । सोही तस्विरलाई लिएर अहिले चलचित्रको प्रचार गरिएको समुन्द्रले बताएकी छिन् ।

त्यस्तै, नायक खड्काले आफूले चलचित्र साइन नगरेको बताएका छन् । उनले भने–‘हामीले चलचित्रको विषयमा कुरा गरेको हो । तर, चलचित्रको लागि मैले साइन गरेको छैन । यता, एलिजा भन्छिन्,- चलचित्रका लागि कुरा भएको हो । हामीले चलचित्रका लागि नै भेट गरेका हौं । अब, रातारात के भयो मलाई थाहा छैन ।’ एक दिन अगाडि बन्छ भनेर घोषणा गरिएको चलचित्र भोलिपल्टै बन्दैन भन्नु हास्यास्पद कुरा हो । नेपाली चलचित्र क्षेत्रका मेकरहरुले चलचित्र निर्माणलाई यस्तै हावादारी र सामान्य कुरा सोच्दा दर्शकले पनि विश्वास गर्न छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *