निर्देशक सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार हुने भनिएको चलचित्र ‘राजमहल’को छायांकन अनिश्चित बनेको छ । नायिका आँचल शर्माको मुख्य भूमिका रहने यो चलचित्रको केही महिना अगाडि नै पाँच तारे होटल याक एण्ड यतीमा शुभसाइत गरिएको थियो ।
चलचित्रको शुभसाइत समारोह भएको केही महिना बितिसक्दा पनि चलचित्रको छायांकन अहिलेसम्म भएको छैन् । श्रोतका अनुसार, अहिले यो चलचित्रका कलाकारहरूलाई पनि काम कहिलेबाट सुरु हुन्छ भन्ने केही पनि जानकारी दिइएको छैन ।
राजमहल भित्रको कथा उठान गर्ने बताइएको यो चलचित्रका लागि नायिका आँचलको साथमा रमेश उप्रेती, सलोन बस्नेत, मिथिला शर्मा, सिम्रन पन्त, मिस पबी लगायतका कलाकारले अभिनय गर्ने पक्का भएको थियो ।
पौषमा शुभसाइत गर्दै यसको निर्माणपक्षले माघको पहिलो साताबाट छायांकन प्रारम्भ गर्ने बताएको थियो । तर, चलचित्रको छायांकन नै अन्योलमा देखिएको अवस्थामा अबभने यो चलचित्र निर्माण होला या नहोला त्यो भने हेर्न बाँकी नै छ।