निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको प्रतिक्षित चलचित्र ‘अगस्त्य च्याप्टर १’ को चर्चा चलेको छ। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको यो चलचित्रको टिजर र ट्रेलरपछि दर्शकमाझ थप चर्चा चुलिएको हो।
फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने यो चलचित्रको अधिकांश दर्शकले ट्रेलर सार्वजनिक भएपछि हलमा टिकट काट्ने प्रतिक्रिया दिइरहेका छन् । दर्शकको स्वाद फेरिँदै जाँदा यस् चलचित्रका मेकरले पनि त्यसलाई बुझेको देखिन्छ ।
चलचित्रको ट्रेलरमा सौगात मल्लको दुई वटा गेटअप देखाइएको छ । ट्रेलरमा चलचित्रको कथा खासै खुलाइएको छैन । सौगात र नाजिरको मित्रता, त्यसपछि आउने घटनाक्रम र भारतमा पुगेपछि सौगातको फेरिएको रुपले दर्शकको उत्सुकता बढाएको हो ।
प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।
चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।
चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।