निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को पोखरामा रेडकार्पेट प्रिमियर शो भएको छ । पोखरा मिडटाउन सिनेमाजमा ब्याण्डबाजाका साथ प्रिमियर भएको हो । प्रिमियर शोको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले गरेकी हुन् ।
चलचित्र हेरेपेछि उपसभामुख थापाले ‘गोर्खा वारियर’ नेपालीको पहिचान भएको बताइन् । ७० वर्ष अगाडिको कथा चलचित्रको पर्दा मार्फत हेर्न पाउनु नौलो भएको उनको भनाई छ । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम)ले गोर्खा वारियर सबै विषयमा उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । प्रिमियर शो हेर्न पुगेका सेवा निवृत्त बेलायती सेनाहरूले सिनेमाभित्र आफ्ना कथावस्तु रहेको बताए ।
चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्दै छन् ।