आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ। आज ३ बजे ओेएस आर युटुबमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रमा मुख्य पात्रहरु अभिनेता हरिवंश आचार्य कलाकार विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत लगायत अन्य कलाकार पनि प्रस्तुत छन्। एक्सन र पैसाले भरिपूर्ण यो चलचित्रको ट्रेलरमा अभिनेता हरिवंश आचार्यलाई भिलेनको रुपमा देखाइेको छ।
निर्देशक प्रदीप भट्टराई लिखित तथा निर्देशित यो चलचित्रले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गर्छ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको यो चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। चलचित्रमा जितबहादुर रूवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण गरिएको चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात निर्माण टिमले ‘महाजात्रा’ निर्माण गरेको हो। यो चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन्।
चलचित्रमा अभिनेता हरिवंश आचार्य सँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झावर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।