शैक्षिक बेरोजगार पात्रको कथा ‘डिग्री माइला’ – टिजर
७ फागुन २०८० १०:०८
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । सोमबार बाँसुरी फिल्म्सको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्रहरु प्रस्तुत छन्। यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा पेश गर्छ ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। चलचित्र आगामी नयाँ वर्षमा रिलिज गर्ने निर्माणपक्षको तयारी छ।