एकल रिलिजको मागगर्दै ‘काँडेतार’ निर्देशक खड्काको बोर्डमा उजुरी

७ फागुन २०८० ९:१६

निर्देशक तथा लेखक नवल खड्काले चलचित्र ‘काँडेतार’लाई एकल रिलिजको मागगर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएका छन्। फागुन २५ गते आफू निर्देशित चलचित्र एकल रिलिज गर्न पाउनुपर्ने भन्दै खड्काले आईतवार उजुरी हालेका थिए। चलचित्र विकास बोर्डले उक्त निवेदनलाई आइतबार दर्ता गरेको हो।

निर्देशक खड्काले हालेको उजुरीमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ले पनि रिलिज मिति घोषणा गरेका छन् । गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिए उल्लेख छ।

बोर्डले आयोजना गरेको कथा लेखन प्रतियोगितामा उत्कृष्ट भएर यो चलचित्रले १० लाख नगदसहित पुरस्कार जितेको र यसमा बोर्डको पनि सहकार्य रहेको निवेदनमा उल्लेख छ ।

‘प्रचलित नेपालको कानुनको अक्षरशः पालना गरी देशभक्तिपूर्ण चलचित्र निर्माण गरेर प्रदर्शन गर्न लागिएको व्यहोरा समेत अवगत गराउँछु,’ चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले उजुरीमा भनेका छन्, ‘सोही नीति नियमलाई परिपालना गरी चलचित्र काँडेतारलाई एकल प्रदर्शन गर्नका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिई कानुन परिपालना गर्न गराउन अनुरोध गर्दछु ।’

चलचित्र निर्माण, प्रदर्शन र वितरण नियमावली २०५७ बमोजिम बोर्डले दिने इजाजत पत्रको प्रकरण नम्बर (च ४) मा प्रदर्शकले स्वदेशी वा विदेशी फिल्म प्रदर्शन गर्दा सेन्सर पास भएको मितिलाई आधार मानेर सबैभन्दा पहिले जाँचपास भएको फिल्मलाई प्रदर्शनको मौका दिनुपर्ने भन्ने व्यवस्थाको स्मरण उनले गराएका छन् ।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा निर्माण गरिएको यो चाचित्रमा मक्किको राई, अञ्जु केसी, नाडिया खड्का र सानिया खड्का निर्माताको रुपमा छन् । शिवम् अधिकारी र नवल खड्काको चलचित्रमा पटकथा छ ।

चलचित्रमा बन्दे प्रसाद र तारा थापाको सम्पादन, सौरभ लामाको छायांकन, मणी थापा र दीपक शर्माको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ ।

सामना फिल्मस् प्रा.लिको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा नवल खड्काको कथा, निर्माण र निर्देशन छ । चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *