१९ वर्षको उमेरमा ‘दंगल’ की अभिनेत्री सुहानी भटनागरको निधन

६ फागुन २०८० ११:२२

चलचित्र ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी भटनागरको १९ वर्षको उमेरमा निधन भएको हो। केही दिनअघि मात्रै खुट्टा भाँचिएको उनको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो ।

उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो । सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । सुहानीको सेक्टर १५ फरीदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिनेछ ।

इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।

आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ । उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। सुहानी एक धेरै प्रतिभाशाली कलाकार थिइन्, उनले सधैँ एक टोली खेलाडीको रूपमा काम गरे। उनीबिना दंगल अधुरो हुन्थ्यो । सुहानी तिमी सधैँ हाम्रो मनमा स्टार रहनेछौँ।’

यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ ।’

सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी थिइन् । यो चलचित्रबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर चलचित्रमा फर्किने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *