नेपाली चलचित्र क्षेत्रमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी अहिलेको समयमा सर्वाधिक सफल मानिएको जोडी हो । पछिल्लो समय यो जोडीलाई लिएर चलचित्र बनाउन निर्माता तथा निर्देशकहरु निकै उत्साहित हुन्छन्। त्यस्तै, यो जोडीको नयाँ चलचित्रको ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालिएको हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहने छन्।
अनिल बुढामगरको निर्देशन रहेको यो चलचित्रको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् ।
सुसन प्रजापतिको छायाङ्कन,हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ । नेपालको वितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् ।
असार २८ गते प्रदर्शन हुने चलचित्र मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने निर्देशक अनिल बुढामगरले जानकारी दिए । पूर्वी रुकुमको लगुम, तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने यो चलचित्रलाई जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ।
करिब ३५ दिनको सेड्युल राखिएको चलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले,शिला आले,अनु थापा,बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।