चलचित्र ‘गोर्खा वारियर’को धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको सहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा प्रिमियर गरिएको हो ।
शनिवार आयोजना गरिएको प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख अतिथि र धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए ।
नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रियरूपमा चर्चा कमाएको यो चलचित्रको प्रिमियर अघि विभिन्न जातजातिहरूले आफ्नो भेसभुसा र पहिरनमा सजिएर बाजागाजा सहित धरानको छाताचोकबाट चलचित्र हलसम्म गोर्खा वारियरको ब्यानर सहित झाँकी निकालेका थिए । झाँकीमा यो चलचित्रका कलाकार तथा प्राविधिकहरू सहभागी थिए ।
चलचित्र प्रिमियरमा मुख्यमन्त्री कार्की, धरानका मेयर साम्पाङसहित सांसदहरू, विभिन्न राजनीतिक पार्टीका नेताहरू, सामाजिक अभियान्ताहरु, सरकारी निकायका विभिन्न उच्च ओहोदाका कर्मचारीहरू, स्थानीय निकायका पदाधिकारीहरू, पेसागत तथा विभिन्न जातजातिसँग सम्बन्धित सङ्घ संस्थाका पदाधिकारीहरू, प्राध्यापक, साहित्यकार, कलाकार, पत्रकार, तथा गोर्खा वारियर टिमबाट निर्देशक चाम्स, निर्माता सुमन राई, सहनिर्माता ज्योतिराज राई, अभिनेता रितेश चाम्स, रियर राई, विजय लामा, अभिनेत्री रेविका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागी थिए।
चलचित्रहेरेपछि मुख्यमन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन सँघर्षमा उत्कृष्ट चलचित्र बनाएको बताए । यस्तै, धरानका मेयर हर्क साम्पाङले अहिलेसम्म आफूले हेरेको नेपाली चलचित्र मध्य गोर्खा वारियरले सबैभन्दा बढी मन छोएको बताए । चलचित्र हेर्दा आफूले पटक पटक आँसु रोक्न नसकेको पनि उनले बताए । ‘गोर्खा वारियर निक्कै उत्कृष्ट सिनेमा बनेको रहेछ । वीर गोर्खाली सैनिकको सँघर्षसँगै पीडाको कथामा बनेको यो चलचित्र साँच्चै मार्मिक र सशक्त छ ।’ मेयर साम्पाङले भने ।
चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । यही फागुन ११ देखि प्रदर्शन हुने यो चलचित्रलाई रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्दै छन् ।