रेखा थापामाथी निर्माता संघ अध्यक्ष नवल खड्काको आक्रोश

२ फागुन २०८० ५:२१

निर्देशक तथा लेखक नवल खड्काले नायिका रेखा थापामाथी आक्रोश व्यक्त गरेका छन्। खड्काले काठमाडौंमा आयोजित एक चलचित्रको ट्रेलर रिलिज कार्यक्रमा नायिका थापा र् उनले निर्माण गरेको चलचित्र
‘उपहार’माथि आक्रोश व्यक्त गरेका हुन् । उनले आफ्नो चलचित्र ‘काडेतार’ सँग चलचित्र जुधाउन ल्याएको भन्दै रेखामाथि आक्रोश व्यक्त गरेका हुन्। उनको आक्रोश फिल्म ‘उपहार’ माथि मात्र नभएर रेखाको व्यक्तिगत जीवनसँग पनि थियो ।

निर्माता संघ अध्यक्ष खड्काले रेखाको नाम नलिई उनीमाथि आक्रोश पोखे । तर, आक्रोश पोख्दै गर्दा उनले रेखाको व्यक्तिगत जीवनमा पनि प्रवेश गरेका छन् । खड्काले यस्ता बिषयहरुलाई मिलाएर लैजानुपर्नेमा आफ्नै सहकर्मीहरुको व्यक्तिगत जीवनमा प्रवेश गरेर देशको माया नै नभएको ‘काइते’ भन्ने शब्द प्रयोग गर्नु लाजमर्दो नै छ । यसले, नवल खड्का कसरी निर्माता संघको अध्यक्ष पदमा बस्न लायक छन् भन्ने प्रश्न समेत अहिले उब्जिएको छ ।

खड्काले अगाडि भनेका छन्–‘मैले एक बर्ष अगाडि नै सेन्सर गरेर प्रदर्शन मिति तोकेको हो । मसँग सेन्सर नै पास नभएका चलचित्रहरु जुध्न आएका छन् । भनेपछि, उहाँहरू कहाँबाट संचालित हुनुहुन्छ, उहाँहरूको चाहना र यो देशप्रतिको दायित्व कत्तिको बोध गर्नु भएको छ ? राज आउ देश बचाउ भन्नेहरूसँग म कुनै पनि बहस गर्न चाहन्नँ ।’ उनले आफ्नो चलचित्रसँग जुध्नेहरू अरूबाट नै संचालित भएको मिथ्या आरोप लगाएका छन् ।

निर्माता संघको अध्यक्ष जस्तो व्यक्तिले यती तल्लो स्तरको कुरा गर्नु आफैंमा दुखलाग्दो कुरा हो । बर्षमा दर्जनौं चलचित्र बनिरहेको समयमा एउटासँग अर्को जुधिरहेका छन् । तर, नवलको चलचित्रसँग जुधाउने कसरी देश विरोधी हुन सक्छन् ? नवल खड्काको चलचित्रसँग अरु चलचित्र रिलिज हुनै नहुने हो भन्ने कदापि हुँदैन । अझ, नवल त नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् । उनले यस्तो कुरा बोल्न कतिको जायज होला ?

उनलाई अब आउँदा दिनहरुमा हाम्रो सुझाब, रेखा थापालाई गाली गरेर वा देशभक्तिको चर्को भाषण गरेर मात्र चलचित्र चल्दैन । चलचित्रका कथावस्तु र प्रस्तुतिले दर्शकलाई तान्यो भने आधा दर्जन चलचित्र जुधेपनि चल्छ । पहिले आफ्नो विषयवस्तुमा विश्वास गर्न आवश्यक छ । निर्माता संघका अध्यक्षले आखिर बोलीमा लगाम कहिले लगाउलान् ? आफ्नै सहकर्मीको इज्जत राम्रोसँग गर्न नजान्ने र देश विरोधी भन्ने नवलले सिंगो निर्माताहरुको हितका लागि काम गर्न सक्लान् भनेर पत्याउने आधार के छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *