सुवेदीको ‘सतिदेवी’लाई सर्वोत्कृष्ट फिल्मको उपाधि

२९ माघ २०८० ५:४५

क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट फिल्मको उपाधि ‘सतिदेवी’ले जितेको छ । लक्ष्मण सुवेदी निर्देशीत चलचित्र ‘सतिदेवी’ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जित्न सफल भए ।

समारोहमा निर्देशक सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए । त्यस्तै महोत्सवमा उत्कृष्ट बृत्तचित्र अवार्ड डा.सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । बृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेका छन् ।

उत्कृष्ट लघु चलचित्रको उपाधि प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गर्यो । उत्कृष्ट सम्पादकको उपाधि भने ‘नांगो गाउँ’बाट बनिष शाहले प्राप्त गरे ।

उत्कृष्ट छायांकारको उपाधि ‘बिच्छेद’बाट संकल्प भुजेलले प्राप्त गर्दै गर्दा यसै चलचित्रबाट उत्कृष्ट लेखन विधामा सत्यराज चौलागाईं र मुकुन भुसालले उपाधि प्राप्त गरे । यो महोत्सवमा दक्षिण एसियाली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।

उक्त महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्रक निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षा सिंह राणा रहेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *