शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’को व्यापार उत्साहजनक रहेको छ। माओत्से गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको यसको निर्माणपक्षले बताएका छन् । चलचित्रले विशेषगरि, मोफसलका केही शहरमा राम्रो कमाई गरेको देखिएको छ ।
पोखरामा भने यो चलचित्रको व्यापार उच्च छ । गुरुङ संस्कृतिको कथामा निर्माण भएको र माओत्से गुरुङको गृह नगर रहेकाले पनि पोखराले यो चलचित्रले व्यापारमा उच्च योगदान गरेको हो । त्यस्तै चलचित्र वितरक प्रचण्डमान श्रेष्ठले शुक्रबार एक स्टाटस लेख्दै देशैभर ८० प्रतिशत माथिको अकुपेन्सीमा व्यापार गरेको उल्लेख गरेका थिए ।
बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको आजदेखिको व्यापार अझै महत्वपूर्ण हुने देखिएको छ । करिब १ घन्टा ४० मिनेट लामो यो चलचित्रले नि सन्तान दम्पतीको कथा भन्छ । चलचित्रमा विशेषगरि, विजय बरालको कमेडीलाई पनि दर्शकले रुचाएका छन् । चलचित्रमा दयाहाङ राई र दिया पुन श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् ।