अनमोल–जसिताको ‘फर्की फर्की’को प्रदर्शन मिति हेरफेर

१८ माघ २०८० ४:४७

रोहित अधिकारीको निर्माणमा सूयोग गुरुङले निर्देशन गरिरहेको चलचित्र ‘फर्की फर्की’को प्रदर्शन मिति हेरफेर गरिएको छ । निर्माता रोहित अधिकारीका अनुसार, यो चलचित्र अब जेठको १० गते बिहिबारबाट रिलिजमा आउने भएको छ ।

यसअघि जेठको ११ गते शुक्रबारदेखि यो चलचित्र रिलिजमा आउने बताइएको थियो । तर, जेठको १० गते बुद्ध जयन्तीको बिदा परेपछि निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति हेरफेर गरेको हो ।

यो चलचित्रको छायांकन ९० प्रतिशत सकिएको छ । चलचित्रको अब २ गीतको मात्र छायांकन गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धी अर्यालको साथमा नायक सलोन बस्नेतको मुख्य भूमिका छ ।

यो चलचित्रलाई लिएर नायक अनमोल केसी निकै उत्साहित छन् । चलचित्रले लभ स्टोरी भन्ने शैली नै फेर्ने अनमोलको दाबी छ ।

चलचित्र ‘फर्की फर्की’मा नरेन्द्र मैनालीको छायांकन छ । चलचित्रको निर्माणमा ओएसआर डिजिटलले समेत सहकार्य गरेको छ । चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *