फागुन १८ बाट ‘अगस्त्य’ रिलिज हुने, सौगातको लुक्सले होस उडाउँछ

१६ पुष २०८० १०:१०

नायक सौगात मल्ललाई चलचित्र क्षेत्रमा भर्सटायल कलाकारको रुपमा लिइन्छ । तर, उनको भर्सटायल अभिनयलाई अझै पनि मेकरहरुले सही तरिकाले प्रयोग गर्न नसकेको देखिन्छ । तर, फागुनको १८ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरेको चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुकले पनि सौगातप्रतिको आशा अझै बढाइदिएको छ । सौगातको भर्सटायल अभिनय यो चलचित्रमा दर्शकले हेर्न पाउने देखिएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन अवतार छ । अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ ।

यी दुबै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । चलचित्रका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट छल्किएको छ ।

चलचित्रमा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । चलचित्रमा संजय लामाको छायांकन छ ।

यो चलचित्रलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *