‘जम्प’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

२५ मंसिर २०८० ७:२८

आशुतोषध्वज कार्कीको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘जम्प’को प्रिमियर आइतबार बेलुकी गरिएको छ । प्रिमियरमा चलचित्र हेर्न निर्देशक सुवर्ण थापा, निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेवको साथमा लेखक प्रदिप भारद्वाज बीग मुभिज पुगेका थिए ।

प्रिमियरमा चलचित्र हेर्नेले यसको प्रस्तुति फरक भएको बताए । फरक शैलीको चलचित्र भएकाले ध्यान दिएर हेर्नुपर्ने धेरैको तर्क थियो । यो चलचित्रले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । यो चलचित्रले एक जना एथ्लेटिक्स खेलाडीको कथालाई प्रस्तुत गर्छ । जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सफलता पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढावको कथालाई चलचित्रमा उतारिएको छ ।

यो चलचित्र बलिउड का ‘तुम्बाड’ तथा ‘रन लोला रन’ शैलीका चलचित्र मन पराउनेहरुका लागि रोजाइको हुनसक्ने प्रतिक्रिया प्रिमियरमा सहभागी एक समिक्षले दिए ।

प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले प्राप्त प्रतिक्रियाहरुबाट आफू उत्साहित बनेको बताउँदै दर्शकबाट माया पाउने अपेक्षा गरेको बताए । एड सिनेमा बनाउँदै आएका उनले आफू अर्को एक सिनेमाको तयारीमा रहेको बताएका छन् ।

यो चलचित्रमा सरोज श्रेष्ठ, बिनिता थापा मगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय छ । सेन्सर बोर्डमा पीजी सर्टिफिकेट पाएको यो चलचित्र शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *