‘चित्रा’को फस्टलुकमा अर्पण, सन्तोषदेखि अन्जनासम्म

१२ मंसिर २०८० ८:४९

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चित्रा’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको ३ वटा पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले यसको कथावस्तुको भाव दर्शकलाई बताउन खोजेको छ । चलचित्रमा समावेश ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ वटा पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू नायक सन्तोष अधिकारीसहित चलचित्रका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, दोश्रो पोष्टरमा चलचित्रका मुख्य तीन नायिकाहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै नायकहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ ।

पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन् ।

यस्तै तेश्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले चलचित्रमा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् भने कलाकार सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ । बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक चलचित्रका यी पोस्टरले चलचित्रको शिर्ष भूमिकामा कसले काम गरेकी छिन् भन्ने कौतुहलता पैदा गरेको छ ।

ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने सहज अनुमान गर्न सकिन्छ ।

‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।

महेश पौडेलले छायाँकन गरेको चलचित्रमा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । चलचित्रको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् । चलचित्रमा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको चलचित्रमा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *