‘फर्की फर्की’को शुभसाइत, मंसिर ११ बाट छायांकन

८ मंसिर २०८० ६:५६

चलचित्र ‘गाजलु र छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले नयाँ चलचित्र ‘फर्की फर्की’को शुभसाइत गरेका छन् । आज ललितपुरको बंगलामुखी माई मन्दिरमा यो चलचित्रको शुभसाइत गरिएको हो ।

चलचित्रमा रोहित अधिकारीसँगै ओम अग्रवालको पनि लगानी रहनेछ । यो चलचित्रको छायांकन मंसिरको ११ गतेबाट पोखरामा सुरु हुनेछ । चलचित्रलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने तयारी समेत निर्माणपक्षले गरिसकेको छ ।

चलचित्रमा सुयोग गुरुङको निर्देशन रहनेछ । चलचित्रमा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यस्तै, चलचित्रका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।

चलचित्रमा नायक अनमोल केसी, नायिका जसिता गुरुङको साथमा कलाकारहरु कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ ।

यस्तै यो चलचित्रबाट रवि काफ्ले र समृद्धी अर्यालले चलचित्र क्षेत्रमा नायक–नायिकाको रुपमा डेब्यू गर्दैछन् ।

चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भैसकेको छ । चलचित्रमा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । चलचित्रमा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।

फिल्मको शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले पूजा गरेका थिए । चलचित्रका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे ।

पत्रकारहरुसँग कुरा गर्दै नायक अनमोल केसीले भने–‘चलचित्र भनेको टेबलमा बन्छ । यो चलचित्र पनि टेबलमै तयार भैसकेको छ । दर्शकले लभ स्टोरी चलचित्रमा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’

यस्तै, नायिका जसिता गुरुङले एउटा उत्कृष्ट लभ स्टोरी चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले, अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले थुप्रै सरप्राइज पाउने बताइन् । चलचित्रका निर्माता रोहित अधिकारीले एउटा ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउने बताए ।

यस्तै, चलचित्रका निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’को कथाले दर्शकलाई लभ स्टोरी चलचित्रमा नै नयाँ स्वाद दिने तर्क गरे । चलचित्रका नव कलाकारद्धय रवि र समृद्धीले पनि एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा उत्साह व्यक्त गरेका थिए ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *