‘सतीदेवी’को फस्टलुकमा मलिकाको घाटीमा जुत्ताको माला

७ मंसिर २०८० ९:०२

निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’लाई लिएर आम मानिसहरुमा निकै चासो थियो । चलचित्रको छायांकन सकिएर रिलिजको लागि तयार हुँदा पनि निर्देशक सुवेदीले यसको कुनै पनि झलक सार्वजनिक गरेका थिएनन् । यसैले, दर्शकहरुका लागि यो चलचित्र प्रतिक्षामा थियो ।

तर, आज चलचित्रको फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकले सबैलाई चलचित्रको बारेमा एकपटक सोच्न वाध्य बनाइदिएको छ ।

चलचित्रको फस्टलुकमा नायिका मलिका महतलाई देखाइएको छ । तर, यो चलचित्रमा मलिका कुनै रोमान्टिक अवतारमा देखिएकी छैनन् । यी सुन्दर नायिकाको घाटीमा जुत्ताको माला लगाइएको छ । अनुहारमा कालो मोसो दलिएको छ । यसले, चलचित्रप्रतिको चासो पनि ह्वात्तै बढाइदिएको हो । यो चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ । यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

चलचित्र नारीप्रधान हो भनेर वुझ्न समय लाग्दैन । तर, मलिकाको यो गेटअपले भने चलचित्रको कथा आम महिलाहरुले समाजमा भोग्दै आएको उत्पिडन, पीडा र दमनको हो भनेर अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *