‘दिमाग खराब’को भोलीको शोज खुलेन, रातभर बसेर भएपनि सहमती गर्ने तयारी

५ मंसिर २०८० १२:२२

कार्तिकको २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘दिमाग खराब’ भोलीबाट हलमा लाग्ने या नलाग्ने भन्ने बिषयमा अझै टुंगो लागेको छैन । यसैले, सबै मल्टिप्लेक्सले चलचित्रको भोलीका लागि शोज खुलाएका छैनन् ।

आज दिउँसो नेपाल चलचित्र संघले ‘दिमाग खराब’को टिम र नेपाल चलचित्र निर्माता संघसँग छुट्टाछुट्टै छलफल गरेको थियो । यसपछि, चलचित्र संघ र चलचित्र निर्माता संघको तर्फबाट वार्ता टोली गठन गरिएको छ ।

वार्ता टोलीमा चलचित्र संघको तर्फबाट राजकुमार पोखरेल संयोजक तोकिएका छन् भने निर्माता संघको तर्फबाट अशोक शर्मालाई संयोजक तोकिएको छ ।

दुबै वार्ता टोलीले अझै पनि वार्ता सुरु गर्न सकेका छैनन् । चलचित्र संघको तर्फबाट संयोजक तोकिएका राजकुमार पोखरेल झापाबाट आउनुपर्ने भएकाले वार्ता सुरु हुन नसकेको हो ।

दुबै संघ रातभर बसेर भएपनि वार्तालाई सकारात्मक रुपमा टुंग्याउने मनस्थितीमा छन् । तर, केही प्रदर्शकहरुले भने निर्मातालाई ५० प्रतिशत शेयर दिने कुरामा असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

यदि, निर्मातालाई चलचित्र रिलिजको अवधीभरको शेयरमा ५० प्रतिशत दिने बिषयमा सहमती नभएको खण्डमा चलचित्र निर्माता संघले आन्दोलन सुरु गर्ने चेतावनी दिइसकेको छ । यस्तो भएको खण्डमा ‘दिमाग खराब’को रिलिज पनि रोकिनेछ । यसैले, वार्ता सफल नभएसम्म ‘दिमाग खराब’को शोज खुल्ने संभावना पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *