शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘दिमाग खराब’लाई हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कँडेलले एक विज्ञप्ती जारी गर्दै विदेशी चलचित्र र नेपाली चलचित्रको शोज बाँडफाँडमा अन्याय भएको भन्दै चलचित्र उतार्ने घोषणा गरेका हुन् ।
शुक्रबारदेखि बिदेशी चलचित्र सरह नेपाली चलचित्रलाई शोज नदिने र चलचित्र हलमा प्रदर्शन भइन्जेलसम्म ५०–५० प्रतिशत शेयर नपाउने हो भने चलचित्र हलबाट उतार्ने घोषणा गरिएको हो ।
निर्देशक बस्नेतले आइतबारदेखि दर्शकको अकुपेन्सी ‘दिमाग खराब’मा पनि उच्च भएको भन्दै शोज बाँडफाँडमा भने अन्याय भएको बताएका छन् । उनले भनेका छन्–‘जब बिदेशी चलचित्रको व्यापार कम हुन्छ अनी हाम्रो चलचित्रको शोज बढ्छ । तर, त्यतीबेलासम्म हामीले पाउने शेयर ३५ प्रतिशत मात्र हुन्छ । यो अन्याय हो । यसैले, हाम्रो २ वटा शर्त पुरा भएन भने शुक्रबारदेखि चलचित्र हलबाट उतार्ने निर्णयमा पुगेका छौं ।’
निश्चलले हलबाहेक अन्य प्लेटफर्मबाट चलचित्रलाई रिलिज गर्ने समेत बताएका छन् । दर्शकमा पर्न गएको असुविधाप्रति निर्माणपक्षले क्षमा मागेको छ ।
शुक्रबारदेखि रिलिजमा आएको यो चलचित्रको बलियो वर्ड अफ माउथ छ । तर, हलमा भने चलचित्रको शोज विदेशी चलचित्र भन्दा आधा कम छ । दर्शकको उच्च अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रले शो नपाउने पीडा लामो समयदेखि भोग्दै आएको छ । तर, यसपटक ‘दिमाग खराब’को टिमले भने बोल्ड निर्णय गरेको छ ।