‘पशुपति प्रसाद ३’को निर्माण घोषणा, पशुपति प्रसादकै कथामा फिल्म बन्ने

२४ कार्तिक २०८० १५:०६

यो बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को नयाँ सिक्वेलको आज निर्माण घोषणा गरिएको छ । कार्तिक ४ गतेबाट रिलिजमा आएको चलचित्र चौथो हप्तामा हलमा प्रदर्शनरत छ । यसैबिच, यसको निर्माण कम्पनी टुकी आर्टस्ले ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् । चलचित्रको लेखनको जिम्मा भने खगेन्द्र लामिछानेले नै उठाएका छन् । चलचित्रलाई रोजिना सिटौलाले लगानी गर्नेछिन् ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को सफलताको केक काटिएको थियो । चौथो हप्तामा चलचित्र सफलतापूर्वक रिलिज भैरहेको भन्दै निर्माणपक्षले मिडियाकर्मीसँग खुशी साटेको हो ।

चलचित्र ‘पशुपति प्रसाद ३’ निर्माणको बारेमा निर्देशक दीपेन्द्र के खनालले भने–‘हामीले नै यो सिरिजमा कैयौं प्रश्नहरु उठाएका छौं । हामीले नै उठान गरेपछि त्यसलाई बिट पनि हामी आफैले मार्नुपर्छ भन्ने हो । यसैले, तेश्रो सिक्वेल दर्शकको चाहना अनुसारको बन्नेछ ।’

चलचित्रका लेखक खगेन्द्र लामिछानेले तेश्रो सिक्वेल पशुपति प्रसादको वरिपरी नै घुम्ने बताए । यस्तै, छरिएर रहेका थुप्रै पात्रहरुलाई एक ठाउँमा जोड्ने काम पनि तेश्रो सिक्वेलले गर्ने खगेन्द्रले बताए ।

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’का वितरक मध्येका एक अशोक शर्माले भने–‘अहिलेको अवस्थामा चलचित्रले राम्रो व्यापार गर्नु पनि ठूलो कुरा हो । पशुपति प्रसाद २ ले अपेक्षा गरे अनुसारको व्यापार गरेन । तर, यसको व्यापारबाट असन्तुष्ट हुने ठाउँ भने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *