हरिवंश, विपिन र वर्षा स्टारर ‘महाजात्रा’को छायांकन सुरु

१५ कार्तिक २०८० ८:०८

आजबाट ४५ दिनको सेड्यूल तयार पार्दै चलचित्र ‘महाजात्रा’को टिमले छायांकन सुरु गरेको छ । काठमाडौंको बुढानिलकण्ठमा तयार पारिएको स्टूडियोमा नायक विपिन कार्कीको दृश्य खिच्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रलाई काठमाडौं र जनकपुरमा खिचिनेछ ।

यो चलचित्रको आज बिहान स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको हो । विश्व शान्तीको कामना गर्दै बौद्ध गुरुहरुले अग्नीमा हवन गर्दै पूजा गरेका थिए । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञस्वर पौडेलको लगानी छ ।

‘जात्रा र जात्रै जात्रा’ सुपरहिट भएपछि यसको टिमले तेश्रो सिक्वेल तयार पार्न लागेको हो । निर्देशक प्रदीप भट्टराइले यसपटक चलचित्रको कथावस्तु झनै वृहत बनेको बताए । पुरुषोत्तम प्रधानको छायांकनमा तयार हुने यो चलचित्रलाई चैत्रको ९ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

चलचित्रको निर्माणपक्षले यसपटक अघिल्ला २ सिक्वेलको कमजोरी सुधार गर्दै काम गर्ने बताएको छ । निर्देशक भट्टराइले भने–‘हामीले कथावस्तुमा निकै मिहिनेत गरेका छौं । दर्शकले यसपटक झनै हाँस्न पाउनुहुनेछ । कथावस्तु पनि यसपटक वृहत छ ।’

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रविण खतिवडा, दिव्यदेव पन्त, गौमाया गुरुङ, अर्जुनजंग शाही लगायतका कलाकारको मुख्य भूमिका रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *