‘पशुपति प्रसाद २ः भष्मे डन’: भष्मे र कालिप्रसादको द्धन्द्धमा उत्कृष्ट सिक्वेल

५ कार्तिक २०८० ७:५०

शनिबारदेखि देशभरका हलमा रिलिजमा आएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक व्यापार गरिरहेको छ । यो चलचित्र हेरेर हलबाट निस्किएका दर्शकले यसलाई उत्कृष्ट भनिरहेका छन् । चलचित्रको व्यापार र प्रतिक्रियाले निर्माणपक्ष उत्साहित छ ।

‘पशुपति प्रसाद’ हेरेका दर्शकका लागि यो चलचित्र प्रतिक्षामा थियो । नहेरेका दर्शकले पनि यो चलचित्रलाई प्रतिक्षा गरिरहेका थिए । के ‘पशुपति प्रसाद’ जस्तो सफल चलचित्रको लिगेसीलाई यो चलचित्रले निरन्तरता दिएको छ ? या यसपटक सिक्वेलको नाममा पैसा कमाउने बाटो मात्र खोजिएको छ, हामी समीक्षा गर्दछौं ।

कथावस्तु

‘पशुपति प्रसाद’को निधन भएपछि पशुपति परिसरा ‘भष्मे डन’को हालिमुहाली छ । कोरोनाको समयमा शव पोलेर कमाएको पैसाले उसले सुनको दात्त जोडेको छ । तर, यसपटक सुन खोज्न भन्दा उसको ध्यान अन्य व्यापारमा केन्द्रित छ । यसपटक उसले ‘पशुपति प्रसाद’का ‘मित बा’लाई आफ्नो ‘बा’ बनाएको छ । तर, नागरिकताको अभावमा उ भौतारिएको छ । मुगुमा जन्मिएको पशुपति प्रसादलाई आफ्नो माता र पितासँग भेट्न मन छ । कारण, उसलाई नागरिकता चाहिएको छ ।

नागरिकता बनाएर उ कानुनी रुपमा नै बलियोसँग व्यापार गर्न चाहन्छ । पहिलो श्रृङ्खलामा पशुपति प्रसाददेखि सबैसँग मारकाट गरेको उसले यसपटक हात नछाड्ने बचन भगवान्लाई दिएको छ । यसैले, यसका लागि यसपटक लडाई गरिहाल्न सहज छैन । यही बिचमा पशुपति परिसरमा सौगात मल्ल अर्थात कालिप्रसादको प्रवेश हुन्छ । कालिप्रसाद र भष्मे डनको द्धन्द्धमा कथा अगाडि बढ्छ ।

डान्स बारमा काम गर्दा गर्दै भागेर पशुपतिनाथ परिसरमा आएकी मैना अर्थात देवी माता(स्वस्तिमा खड्का) र भष्मे डन अर्थात विपिन कार्कीबिच माया पलाउन सुरु हुन्छ । अर्कोतिर कालिप्रसाद अर्थात सौगात मल्लसँगको उसको द्धन्द्ध कायम नै छ । यही द्धन्द्धका साथ अगाडि बढेको चलचित्रमा ‘भष्मे डन’ले नागरिकता पाउँछ कि पाउँदैन ? आफ्नो बाबु आमालाई भेट्छ कि भेट्दैन ? देवि मातासँगको उसको प्रेम सफल हुन्छ या हुदैन ? कालिप्रसाद र भष्मेको द्धन्द्ध कहाँ पुग्छ ?

यी सबै प्रश्नको उत्तर सिनेमा हलमा गएपछि मात्र पाइन्छ । यो चलचित्रको अन्तिममा दर्शकका लागि नयाँ सरप्राइज छ । यसले, चलचित्रको तेश्रो सिक्वेलप्रति दर्शकको आकर्षण ह्वात्तै बढेको छ । हलमा पुगेका दर्शकले तेश्रो सिक्वेलको माग गर्नुको कारण पनि यही नै हो ।

सबल पक्ष
यो चलचित्रले पहिलो भागको लिगेसीलाई कतै पनि छाडेको छैन । चलचित्रको अवधीभर दर्शकलाई पहिलो सिरिजसँग निर्देशकले जोडेर राख्न सफल भएका छन् । पहिलो भाग नहेरेका दर्शकलाई दोश्रो भाग बुझ्न केही गाह्रो पर्छ । चलचित्रको संवादपक्ष बलियो छ । भष्मे डन होस् या प्रकाश घिमिरे अर्थात मित बाले बोल्ने संवादले दर्शकलाई कनेक्ट गराइराख्छ ।स्वस्तिमा खड्का किन दुर्गा माता बन्न वाध्य भइन्, यसले दर्शकको मन रसाउँछ ।

एउटा कुरा के विर्सन हुँदैन भने, यो पशुपति प्रसादको नभएर ‘भष्मे डन’को कथा हो । ‘भष्मे डन’को शैली ‘पशुपति प्रसाद’को भन्दा विल्कुलै फरक थियो । यसैले, निर्देशक र लेखकले ‘भष्मे डन’को कोणबाट चलचित्र भन्दा उसको हाउभाउ, उसको शैलीलाई मज्जाले देखाएका छन् । ७ बर्षको अवधीमा भष्मेमा आएको परिवर्तनलाई निर्देशकले मिठोसँग बुनेका छन् । क्यान्डी क्रस खेल्ने भष्मे अब पब्जी खेल्ने भएको छ, जिन्दगीमा लफडा मात्र गर्ने भष्मे अब नागरिकताको खोजीमा छ र आफै व्यवसाय गरेर मालामाल बन्ने दाउमा छ ।

पहिलो भागमा बिग्रिएको भष्मे दोश्रो भागमा सुधारिएको छ र जीवन दर्शनको कुरा गर्ने भएको छ । यसपटक भष्मेसँग पंगा लिन तयार भएको पात्र कालिप्रसाद उर्फ नागाको पृष्ठभूमी पनि बलियो छ । उ किन, पशुपति प्रसादसँग पंगा लिने अवस्था आयो भन्ने कथाले दर्शकको मन छुन्छ । नेपालको स्वास्थ्य प्रणालीमा देखिएको विकृती र हराउँदै गएको मानविय संवेदनाको कथालाई कालिप्रसादको कोणबाट निर्देशकले बेजोडले भनेका छन् ।

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ । अन्य फिल्ममा लाउड सुनिने उनि यसा मौलिक सुनिएका छन् । चलचित्रमा एक दृष्य छ, जहाँ संवादमै भनिएको हुन्छ, छ्या ! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । चलचित्र पनि यहि संवाद जस्तै बनेको छ । कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने । यो चलचित्र मिठो छ । चलचित्रका संवाद, दृश्य, छायांकनपक्ष उत्कृष्ट छ । स्वस्तिमा खड्का र आँचल शर्मासँगको गीत चलचित्रमा राखेको भए पनि हुन्थ्यो ।

तर, गीत नहुँदा पनि दर्शकले गीतको अभाव महशुश गर्दैछन् । पशुपति प्रसादमा जत्तिको भावना यसपटक भष्मे डनसँग छैन । किनकी, हामीले माथि नै भनिसकेका छौं, यो पशुपति प्रसादको भावुक कथा होइन, भष्मे डनको कथा हो । यसैले, चलचित्रलाई भष्मे डनको आँखाबाट हेर्न आवश्यक छ ।

तर, यति हुँदा हुँदै पनि ‘पशुपति प्रसाद २ः भष्मे डन’मा कमजोरी नै नभएका भने होइनन् । यो चलचित्रको दोश्रो हाफमा केही दृश्यहरु दोहोरिएका छन् । भष्मे डन र नागाको द्धन्द्धमा एउटै दृश्य दोहोरिएका छन्, जसले दर्शकलाई नयाँपन नलाग्न सक्छ । चलचित्रले जीवन र दर्शनका कुरालाई संवादबाट बढी वुझाउन खोजेको छ । यसले, दर्शकलाई संवाद लामा लाग्न सक्छन् ।

चलचित्र भित्र पशुपति प्रसादमा जस्ता इमोशनल दृश्य र संवाद कम छन् । यसले, पशुपति प्रसादकै जस्तो मेकिङ र कथा खोज्ने दर्शकका लागि केही न केही खल्लो महशुश हुन सक्छ ।

‘पशुपति प्रसाद २ः भष्मे डन’ दशैंको समयमा परिवारसँग बसेर रमाउने एउटा बलियो चलचित्र हो । जसले, दर्शकलाई ‘भष्मे डन’को नयाँ दुनियाँमा लैजान्छ र सस्पेन्स पाटो राख्दै तेश्रो भागको प्रतिक्षा व्यग्र रुपमा गराउन वाध्य हुन्छ । यसैले, यसपटक दशैंमा परिवारसँग बसेर ‘पशुपति प्रसाद २ः भष्मे डन’ हेर्दा समय र पैसा दुबैको बचत हुन्छ ।
निर्देशकले तेश्रो श्रृङ्खला पनि बनाउने पक्का यो चलचित्रबाट गरिसकेका छन् । यसैले, दोश्रो श्रृङ्खलाले दिन नसकेका कैयौं प्रश्नको जवाफ तेश्रो श्रृङ्खलाले दिनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ ।

हामी फेरि पनि भन्छौं, पशुपति प्रसाद २ः भष्मे डन पशुपति प्रसादको कथा होइन, भष्मे डनको कथा हो । यसैले, यसलाई भष्मे डनकै आँखाबाट हेर्न जरुरी छ । दिमागमा यही कुरा राखेर तपाई हलसम्म जानुभयो भने, तपाइलाई चलचित्रले निराश बनाउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *