‘पशुपति प्रसाद २ः भष्मे डन’को ओभरसिजमा बिष्फोटक व्यापार हुने संकेत

११ असोज २०८० १३:५१

दशैंको फूलपाति अर्थात कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ले नेपाली बजारमा मात्र नभएर ओभरसिजमा पनि बिष्फोटक व्यापार गर्ने संकेत दिएको छ ।

यो चलचित्र रिलिज हुनु भन्दा ३ साता अगाडि नै धमाधम विभिन्न देशहरुमा बुकिङ खुलाउन थालिएको छ । दर्शकको उच्च माग आएपछि अमेरिका, पोर्चुगल अष्ट्रेलिया, जापान लगायतका देशमा यसको बुकिङ सुरु भएको हो ।

चलचित्रको शो समय समेत सार्वजनिक गर्दै बुकिङ खुला भएको हो । चलचित्र रिलिज हुनु भन्दा ३ साता अगाडि नै यसरी कुनै पनि नेपाली चलचित्रको बुकिङ यसअघि खुलाइएको थिएन । यसले, चलचित्रप्रति विश्वभरका नेपालीहरुमा कुन प्रकारको क्रेज र उत्साह छ भन्ने पुष्टी गर्दछ ।

चलचित्रको मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भैसकेको छ । मेलर्वनको चाइना टाउन सिनेमामा चलचित्रको प्रिमियर अक्टुबर २३ तारिखमा हुँदैछ । यस्तै, २५ अक्टुबर, ३० अक्टुबर र ५ नोभेम्बरका लागि चलचित्रको बुकिङ खुलेको छ । यस्तै, जापानका लागि पनि चलचित्रको बुकिङ खुलेको छ । जापानमा अक्टुबर २७ मा केयोटो र ओसाकामा यो चलचित्र रिलिज हुँदैछ भने अक्टुबर ३० मा कोबेमा चलचित्र रिलिज पक्का भएको छ ।

बेल्जियममा पनि चलचित्रले आक्रामक सुरुवात गर्ने देखिएको छ । बेल्जियमका ५ वटा शहरमा चलचित्रको शोज अक्टुबर २१ बाट नै सुरु हुँदैछ । अक्टुबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ ।

दर्शकहरुको उच्च माग आउन थालेपछि चलचित्र रिलिजको ३ साता अगाडि नै बुकिङ खोल्नु परेको वितरकहरुले बताएका छन् । यो चलचित्रको टिजर र २ वटा गीत रिलिज भएपछि नेपालसँगै विदेशमा पनि यसको माग ह्वात्तै बढेको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल लगायतका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर पनि सार्वजनिक नहुँदै नेपालसँगै विश्व बजारमा यसको क्रेज गज्जब देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *