‘हात्तीछाप’को फस्टलुकमा ‘बोत्तल राजा’ सौगात, माघ २६ बाट रिलिज हुने

३१ भदौ २०८० ६:०८

चलचित्र ‘हात्तीछाप’को फस्टलुक हरितालिका तीजको अवसर पारेर आज सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फस्टलुकमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई चलचित्रमा ‘बोत्तल राजा’को रुपमा चित्रित गरिएको छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजिव गुरुङ, पुष्कर बहादुर गुरुङ र अमलादेवी राईको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा प्रदीप भारद्धाजको लेखन, सुशन प्रजापतिको छायांकन, आर्ट मान्डुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रको प्रदर्शन माघ २६ बाट गर्ने निर्माणपक्षले घोषणा समेत गरेको छ । यसअघि यो चलचित्रलाई दशैं र तिहारको छेकोमै रिलिज गर्ने चर्चा चलचित्र वृत्तमा थियो ।

तर, अब चलचित्र माघको २६ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ । तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।

चलचित्रको छायांकन काठमाडौं र पोखरामा रमणीय स्थानमा गरिएको छ । सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको ‘हात्तीछाप’ यो बर्षकै प्रतिक्षित चलचित्र हो ।

किरणले नै निर्माण गरेको चलचित्र ‘२ नम्बरी’ले गतबर्ष बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । सौगात र दया एकसाथ चलचित्रमा आउँदा दर्शकले अझै बढी उत्साह व्यक्त गर्ने गरेका छन् । यसैले, बक्स अफिसमा यो चलचित्रको व्यापार पनि सुखद हुनेमा निर्माणपक्ष विश्वस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *