विकेन्डमा ‘नाङ्गो गाउँ’को आक्रामक कलेक्शन, दयाले भने–‘टिकट नपाएको सुन्दा खुशी लाग्छ’(भिडियोसहित)

३० भदौ २०८० १६:०३

वैशाखको १ गतेबाट रिलिज भएको फिल्म ‘जारी’को आक्रामक कलेक्शनले खुशी बनाएको नेपाली फिल्म क्षेत्रलाई त्यसपछि भने आराम दिन सकेन । यसपछि, रिलिज भएका अधिकांश फिल्म बक्स अफिसमा चलेनन् । नाम चलेका स्टारदेखि नाम चलेका व्यानरका फिल्म बक्स अफिसमा असफल भए ।

भदौ महिनामा पनि फिल्मको व्यापारको गति सुखद रहेन । यसैले, भदौ महिना पनि विना हिट नै जाने हो कि भन्ने चिन्ता फिल्मीकर्मीमा थियो ।

तर, शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । फिल्मको शुक्रबार र शनिबारको विकेन्ड कलेक्शन बम्पर छ । शनिबार त देशैभरका अधिकांश हलमा टिकट पाउन नै मुश्किल परेको थियो । फिल्मको समीक्षा समेत दर्शकबाट राम्रो आएको भन्दै निर्देशक तथा लेखक दीपेन्द्र लामा खुशी सुनिए ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

फिल्मले बम्पर व्यापार गरेपछि खुशी देखिएका नायक दयाहाङ राइले देशैभर हलमा टिकट नपाएको सुन्दा खुशी लागेको सुनाए । उनले, आफूहरुले एउटा इमान्दार प्रयास गरेको समेत बताए । दयाले फिल्म ‘नाङ्गो गाउँ’बाट आफूलाई यसअघिका आफ्नै चलचित्रका व्यापारको रेकर्ड तोड्ने लोभ समेत नभएको बताए ।

निर्देशक दीपेन्द्र लामाले चलचित्र हेरेर दर्शकले पनि राम्रो प्रतिक्रिया दिएको बताए । उनले, चलचित्र नचल्ने कुरा आफ्नो दिमागमा कहिले पनि नआएको सुनाए ।

यस्तै, नायक राइले यो चलचित्रलाई हरेक मतदाताले हेर्नुपर्ने पनि तर्क गरे । यस्तै, चलचित्रका प्रस्तुतकर्ता हिमाल कडरियाले चलचित्रले पहिलो दिनमै नेपाल र ओभरसिजबाट लगानी उठाइसकेको बताए । आफूहरुले दर्शकको स्वाद अनुसारको चलचित्र बनाएको भन्दै उनले माया पनि सोही अनुसार पाएको सुनाए । हिमालले चाडै नै आफूले नयाँ चलचित्र निर्माणको घोषणा गर्ने पनि बताए ।

चलचित्र ‘नाङ्गो गाउँ’मा दयाको साथमा शिशिर वाङ्देल, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित खड्का, बुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । एउटा राम्रो उम्मेदवारले निर्वाचनमा पराजित व्यहोर्दा गाउँ र समाज नै कसरी नाङ्गिन्छ भन्ने कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर