एक दिनमै ‘जवान’को कमाई ६८ करोड, विश्व बजारमा ४ सय करोड नजिक

२४ भदौ २०८० ८:४८

नायक साहरुख खान अभिनित चलचित्र ‘जवान’ले बक्स अफिसमा हरेक दिन नयाँ रेकर्ड राखेको छ । चलचित्रले बिहिबार एक दिनमै सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड राखेको थियो । तर, शनिबार साहरुखले आफूले राखेको रेकर्ड तोडेका छन् ।

यो चलचित्रले शनिबार हिन्दी भाषामा भारतमा मात्र ६८.७२ करोड नेट कमाई गर्दै नयाँ रेकर्ड बनाएको हो । यो रेकर्ड फेरि आज आइतबार तोडिने पक्का छ ।

चलचित्रले विश्व बजारमा एकै दिनमा १४४.२२ करोड कमाई गर्दै नयाँ रेकर्ड पनि बनाएको छ । यसअघि कुनै पनि बलिउड चलचित्रले यो रेकर्ड बनाउन सकेका थिएनन् । अब, विश्व बजारमा यो चलचित्रको ग्रस कलेक्शन ३ दिनमै ३८४.६९ करोड पुगेको छ । भारतमा यो चलचित्रले ३ दिनमा हिन्दी भाषमा मात्र १८० करोडको आँकडा पार गरेको छ । तमिल र तेलुगु भाषासहित चलचित्रको व्यापार २ सय करोड कटेको छ ।

चलचित्रले हिन्दी भाषामा मात्र बिहिबार ६५.५० करोड, शुक्रबार ४६.२३ करोड र शनिबार ६८.७२ करोडको व्यापार गर्दै ३ दिनमा १८०.४५ करोडको व्यापार गरेको छ ।

एट्लीको निर्देशनमा तयार भएको यो चलचित्रले आज आइतबार भारतमा ८० करोडको आँकडा छुने अनुमान गरिएको छ । आक्रामक वर्ड अफ माउथका कारण चलचित्रको व्यापार ६ सय करोड पुग्ने धेरैको प्रक्षेपण छ । चलचित्रमा साहरुख खानका दोहोरो भूमिका छ । साथमा नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, संजय दत्त लगायतका कलाकारलाई चलचित्रमा हेर्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *